
दोलखा। दोलखाको तामाकोशी गाउँपालिकामा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। करिब एक हजारभन्दा बढीको उपस्थिति रहेको उक्त भेला आगामी प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित थियो।
कार्यक्रममा तामाकोशी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य राजकुमार केसीले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेमा भोट हालेर पार्वत गुरुङलाई जिताउने स्पष्ट प्रतिबद्धता गरे। केसी यसअघि नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित वडा सदस्य रही हाल नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै तामाकोशी क्षेत्रका प्रभावशाली नेताका रूपमा परिचित छन् ।
भेलामा नेकपा एमाले केन्द्रिय सदस्य उर्मिला सुनुवार, दोलखा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र मानन्धर, जिल्ला सचिवालय सदस्य तथा युवा नेता धिरज सुवेदी लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता धिरज सुवेदीले दोलखाको विकास नेकपा एमालेले नै गरेको र आगामी दिनमा पनि एमालेले नै गर्ने दाबी गरेका थिए । उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्वत गुरुङले कम्तीमा १० हजार मतको अन्तरले विजय हासिल गर्ने दाबी समेत गरे ।
कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने सहभागीहरूले दोलखाको समग्र विकास र समृद्धिका लागि नेकपा एमालेको नेतृत्व अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।