बालेनको काठमाडौँ कार्यकालमाथि झापा ५ का मतदाताको प्र‍श्नचिह्न

राष्ट्रपाटी न्युज

फाल्गुन ४, २०८२

काठमाडौं । झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह बालेनलाई मतदाताले काठमाडौं महानगरपालिकामा उनको कार्यकालबारे कडा प्रश्न गरेका छन् ।

गत माघ ४ गते काठमाडौं महानगर प्रमुख पदबाट राजीनामा दिएर झापा–५ मा उम्मेदवारी दिएका शाह सोमबार घरदैलो अभियानमा व्यस्त रहँदा एक प्राथमिक विद्यालयका शिक्षकले काठमाडौंको फोहोर व्यवस्थापन र सुकुम्बासी समस्या उठाएका थिए ।

शाहले जवाफ दिँदै काठमाडौं महानगरपालिकामा काम गर्दा “अन्तर्राष्ट्रिय चलखेल” र राजनीतिक दबाबका कारण आफूले चाहेजति परिणाम दिन नसकेको दाबी गरे । “राजधानीमा विदेशी चलखेलका कारण फोहोर व्यवस्थापनमा समस्या आयो,” उनको भनाइ थियो । झापामा भने त्यस्तो हस्तक्षेप नहुने उनले उल्लेख गरे ।

सुकुम्बासी बस्तीमा डोजर चलाएको प्रसंग उठेपछि शाहले आफूले कुनै सुकुम्बासी बस्तीमा डोजर नचलाएको दाबी गरे । धनीपुर्जा वितरणबारे उनले संघीय सरकारको अस्थिरताका कारण प्रक्रिया अघि बढ्न नसकेको बताए ।

प्रश्न गर्ने शिक्षकले मेची पुल, औद्योगिक पार्क र लालपुर्जा वितरणजस्ता स्थानीय मुद्दा पनि उठाएका थिए । त्यसक्रममा शाहले शिक्षकलाई उल्टै विद्यालयको नतिजाबारे सोध्दै उदाहरण दिएका थिए । शिक्षकले ७०–८० प्रतिशत विद्यार्थी पास हुने गरेको बताएपछि शाहले “सतप्रतिशत नतिजा ल्याउन समय लागेजस्तै सुकुम्बासी समस्या समाधानमा पनि समय लाग्छ” भन्ने तर्क गरे ।

झापा–५ मा शीर्ष नेताबीच प्रतिस्पर्धा चर्किँदै जाँदा चुनावी बहस स्थानीय मुद्दा, सुशासन र पूर्व कार्यकालको मूल्यांकनतर्फ केन्द्रित हुन थालेको छ ।


Published :फाल्गुन ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media