
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले दाङको तुलसीपुरमा पार्टीको चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाको कडा निन्दा गरेको छ ।
एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले आज जारी गरेको विज्ञप्तिमा अध्यक्ष केपी शर्मा ओली विरुद्ध अपाच्य शब्द प्रयोग गर्दै नाराबाजी गरिएको तथा महासचिव शङ्कर पोखरेलको गृहनगरमै यस्तो गतिविधि गरिएकोप्रति आपत्ति जनाइएको छ। उनले यसलाई राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य भएको टिप्पणी गरेका छन्।
विज्ञप्तिमा देश जलाउने गतिविधिमा संलग्न शक्तिबाटै एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाइनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको उल्लेख गरिएको छ।
“दलीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु लोकतन्त्रको सुन्दर पक्ष हो, तर प्रतिस्पर्धाको नाममा स्थापित राष्ट्रिय शक्ति एमालेको आस्थामाथि चोट पुर्याउने कार्य लोकतन्त्रको परिधिभित्र पर्दैन,” विज्ञप्तिमा भनिएको छ। यस्तो गतिविधिले मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने र चुनावी द्वन्द्वलाई आमन्त्रण गर्ने खतरा रहेको एमालेको ठहर छ।
एमाले अनुशासित पार्टी भएकाले घटनाबाट उत्तेजित नभएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “हाम्रो संयमता कमजोरी होइन। कानुनी शासनको सम्मान गर्ने पार्टी भएकाले झण्डा जलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याई कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ।”
सरकारले भयरहित, निष्पक्ष र निर्भीक ढंगले मतदाताको मतदान अधिकार सुरक्षित गर्न नसकेको तर्कलाई यस घटनाले थप पुष्टि गरेको शाहीले बताए। उनले घटनामा संलग्नलाई तुरुन्त कानुनी कारबाही गर्न माग गरे।
एमालेले निर्वाचन आयोगलाई पनि ध्यानाकर्षण गराउँदै सम्बन्धित दलसँग तत्काल स्पष्टीकरण लिन र जवाफ सार्वजनिक गर्न जोडदार माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “यदि झण्डा जलाउने दल र त्यसका कार्यकर्तामाथि कानुनी कारबाही नगरिए त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थिति र घटनाको जिम्मेवारी सरकार, निर्वाचन आयोग र झण्डा जलाउने दल रास्वपा स्वयं हुने जानकारी गराइन्छ।”