
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवा र पोखरामा गर्ने भनिएको चुनावी सभा कार्यक्रम स्थगित गरेको छ । भैरहवामा शनिबार र पोखरामा आइतबार सभा गर्ने कार्यक्रम राखिएको थियो । अन्तिम समयमा आएर दुवै ठाउँमा गर्ने भनिएको कार्यक्रम स्थगित भएको हो ।
संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा उल्लेख छ ।
प्रदेशस्तरीय उक्त सभाका लागि पत्रकार सम्मेलन, प्रचार प्रसार र स्टेज निर्माणको काम समेत भइरहेको थियो ।
सभा स्थगित हुनका मुख्य दुई कारण रहेको रास्वपा स्रोतले बताएको छ । एक, आफ्ना कार्यकर्ताले एमाालेको झण्डा चलाउँदै एमाले नेतृत्वविरुद्ध तथानाम गालीगलौज गर्नु, अर्को पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह अनुपस्थित हुुनु हो । नेता शाह विरामी परेको भन्दै बिहीबार सुर्खेतबाट काठमाडौं जान्छु भन्दै सभापति रवि लामिछानेसँग छुट्टिएका छन् । तर उनी शुक्रबार विहानै झापा ५ स्थित आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् ।
त्यस्तै गएराति दाङमा रास्वपा कार्यकर्ताहरुले नेकपा एमालेको चुनाव चिन्ह (सूर्य) अंकित झण्डा जलाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक नाराबाजी गरेका थिए ।
रास्वपा समर्थकहरुले पार्टीको झण्डा जलाएको र नेतृत्वविरुद्ध नाराबाजी गरेको भन्दै एमालेका नेता, कार्यकर्ता र भ्रातृ संगठनहरुले आपत्ति जनाएका छन् ।
एमालेको नेशनल भोलेन्टियर्स फोर्सले एमाले नेतृत्वमाथि अनावश्यक आरोप लगाउने र झण्डा जलाउनेलाई प्रशासनले कारबाही नगरे सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएको छ ।
फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले शुक्रबार जारी गरेको विज्ञप्तिमा झण्डा जलाउने, उत्तेजना फैलाउने र द्वेष भड्काउने कार्यलाई अराजक मानसिकताको प्रतीक भएको बताएका छन् ।
विज्ञप्तिमा यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि राज्य संयन्त्रले तत्काल कारबाही गर्नुपर्ने माग गरिएको छ । यदि सम्बन्धित निकायले कारबाही नगरे अराजक गतिविधिविरुद्ध कडा प्रतिवाद गर्ने चेतावनी पनि फोर्सले दिएको छ ।
एमालेको अर्को भ्रातृ संगठन युवा संघले पनि रास्वपालाई यथाशीघ्र सार्वजनिक रूपमा माफी माग्न, यस्ता गतिविधि रोक्न र कार्यकर्तालाई अनुशासनमा अनुरोध गरेको छ ।
संघका अध्यक्ष महाराज गुरुङले विज्ञप्ति निकाल्दै आफूहरू आलोचना स्वीकार्ने तर अवरोध, अराजकता र उच्छृंखलता नस्वीकार्ने बताउँदे झण्डा जलाएको विषयमा माफी नमाग्ने र यस्ता गतिविधि दोहोरिए देशव्यापी सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिइएका छन् ।
बालेन नहुँदा जनसहभागिता घट्ने र एमालेबाट प्रतिवाद हुन सक्ने आँकलनका साथ रास्वपाले दुवै ठाउँका सभा स्थगित गरेको राजनीतिक वृत्तमा पनि चर्चा छ ।