रास्वपा कार्यकर्ताले झण्डा जलाएको विरोधमा विभिन्न शहरमा एमालेको राँके जुलुस

राष्ट्रपाटी न्युज

फाल्गुन ८, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र भातृसंगठनले रास्वपाका कार्यकर्ताले सूर्य अंकित झण्डा जलाएको विरोधमा देशका विभिन्न शहरमा मसाल जुलुस र कालो झण्डा प्रदर्शन गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले बिहीबार राति दाङ तुल्सीपुरमा एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षणसहित चेतावनी दिएको हो ।

झण्डा जलाएको विरोधमा दाङ सहित प्रमुख शहरमा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियू र भोलिन्टियर फोर्सले जुलुस निकालेको हो।

आफ्नो पार्टीको झण्डा जलाइएपछि एमालेले उक्त घटनाको भर्त्सना गर्दै झण्डा जलाउनेहरूलाई तत्काल पहिचान गरी कानुनी दायरामा लिई कारबाही गर्न माग समेत गरेको छ । जुलुसमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको पुत्ला समेत जलाइएको थियो ।

भातृ संगठनले तत्काल कारबाही प्रक्रिया अगाडि नबढाए थप विरोधमा उत्रने चेतावनी दिएपछि प्रहरी एक्सनमा उत्रिएको छ। नेपाल प्रहरीका अनुसार एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको घटनामा संलग्न तुलसीपुर उपमहानगरका एक जना पक्राउ परेका छन्।

प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको दाङ जिल्लाको तुलसीपुर उ.म.न.पा.-७, कालाखोला बस्ने ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। सामाजिक सञ्जालमार्फत प्राप्त भएको  भिडियोको प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ छ ।

निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न हुनका साथै संयमित एवं जिम्मेवार व्यवहार प्रदर्शन गर्न सबैलाई आग्रह गरेको छ ।


Published :फाल्गुन ८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media