
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ । युवराज पौडेल ‘सफल’ ले शाहविरुद्ध नागरिकतासम्बन्धी विषयमा उजुरी दिएका हुन् ।
उजुरीमा शाहले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप लगाइएको छ। नागरिकता ऐन, २०६३ विपरीत कार्य गरेको दाबी गर्दै उनको नागरिकता खारेज गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।
निवेदनअनुसार शाहले २०६३ साल पुस ६ गते जिल्ला प्रशासन कार्यालय, महोत्तरीबाट ५१९२ नम्बरको नागरिकता लिँदा ‘साह’ थर उल्लेख भएको तर २०७९ असार १९ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट नागरिकताको प्रतिलिपि लिँदा थर परिवर्तन गरी फरक विवरण उल्लेख गरिएको दाबी गरिएको छ ।
उजुरीकर्ताले नागरिकता ऐन, २०६३ को दफा १२ अनुसार झूटो विवरण दिएर नागरिकता लिएको प्रमाणित भएमा त्यस्तो नागरिकता रद्द गर्न सकिने व्यवस्था रहेको उल्लेख गरेका छन् । निवेदनमा सम्बन्धित कागजातको अनुसन्धान गरी कानुनबमोजिम नागरिकता खारेज गर्न, साथै पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना गर्न माग गरिएको छ ।
