
काठमाडौं । नेपाली कांग्रेसले भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
आइतबार पार्टी कार्यालय सानेपमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले अझै पनि निर्वाचन बिथोल्ने प्रयास भइरहेको भन्दै भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रवक्ता चालिसेले भयरहित निर्वाचन हुनेमा शंका व्यक्त गरे।
उनले भयरहित र सद्भावपूर्ण वातावरणमा निर्वाचन हुन नदिन सामाजिक सञ्जालदेखि विभिन्न माध्यम प्रयोग गरी कांग्रेस उम्मेदवारलाई अपमान र दुरुत्साहित बनाउने प्रयास भएको उल्लेख गरे ।
कांग्रेस अनेक संघर्ष गरेर अहिलेको अवस्थासम्म आइपुगेकाले आफू पनि भयको राजनीति नगर्ने र अरूलाई पनि भय राजनीतिक गर्न नदिने उनले बताए । प्रवक्ता चालिसले कुनै भ्रममा नगरी दृढ भएर चुनावी प्रचार प्रसारमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे ।
जनता जनताबीचको सद्भाव र धार्मिक सहिष्णुतामा असर पुर्याउने काम कहीँ कतैबाट हुनु उचित नभएको भन्दै उनले अरु पार्टीको झन्डा जलाउने काम समेत निन्दनीय भएको धारणा राखे । उनले निर्वाचन नजिकिँदै जाँदा कांग्रेसप्रति आकर्षण बढ्दै गएकाले घर छाडेर गएकाहरूलाई घर फर्कन आह्वान समेत गरे ।
उनले अरु पार्टीको झण्डा जलाउने काम पनि निन्दनीय भएको बताए। ‘यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्छ। त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं,’ उनले भने।
प्रवक्ता चालिसेले बदलिएको कांग्रेसप्रति अहिले लहर देखिएको र त्यसलाई धेरैले स्वागत गरिरहेको दाबी गरे।