निर्वाचन प्रचारमा चिह्नको भौतिक स्वरूप प्रयोग गर्न आयोगको रोक

राष्ट्रपाटी न्युज

फाल्गुन १०, २०८२

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न आग्रह गरेको छ। आयोगल‍े आइतबार विज्ञप्ति जारी गरेर आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी कतिपय राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचारप्रसार गर्दा भौतिक स्वरुपको निर्वाचन चिह्न प्रयोग गरेको भन्दै ध्यानाकर्षण गराएको हो।

आयोगका अनुसार राजनीतिक दल वा उम्मेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्ड बमोजिम आफ्नो निर्वाचन चिह्नको प्रचारप्रसार गर्न सक्ने छन्। सोको सट्टामा कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामाग्रीबाट बनेको भौतिक स्वरूपका निर्वाचन चिह्न लिई निर्वाचन प्रचारप्रसार गर्दा सुरक्षा जोखिम बढेको उजुरी तथा गुनासोहरु आएको आयोगमा विज्ञप्तिमा उल्लेख गरेको छ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले ‘घण्टी’ बजाउँदै देशव्यापी रूपमा आचारसंहिता उल्लंघन गरेको भन्दै व्यापक गुनासो आएपछि आयोगले यस्तो निर्णय लिएको हो। राप्रपाले त विज्ञप्ति नै जारी गरेर “रवि लामिछानेका कार्यकर्ताले घण्टी बजाउँदै हिँड्दा आयोग किन मौन?” भन्दै प्रश्न उठाएको थियो। कतिपयले यसलाई काठमाडौँका मेयर बालेन शाहको ‘डोजर’ शैली जस्तै आक्रामक प्रचारको संज्ञा समेत दिएका थिए ।

यो निर्णयसँगै अब रास्वपाले प्रचारमा घण्टी बजाउन पाउने छैन भने अन्य दलले पनि खुकुरी वा अन्य भौतिक हतियार जस्ता देखिने चिह्न प्रदर्शन गर्न पाउने छैनन्। आयोगले दलहरूलाई झण्डा र चुनाव चिह्नको सामान्य माध्यमबाट मात्रै प्रचार गर्न निर्देशन दिएको छ।

रास्वपाले घन्टी बजाएर प्रचार गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको थियो ।


Published :फाल्गुन १०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media