
कञ्चनपुर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन् । लिखित उजुरी भने न्यून सङ्ख्यामा मात्रै दर्ता भएका छन् ।
निर्वाचन आचारसंहिता अनुगमन समितिले मौखिक रूपमा आएका आचारसंहिता उल्लंघनका उजुरी तत्काल समाधान गर्दै आएको छ । आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार हालसम्म तीन वटा मात्रै लिखित उजुरी दर्ता भएका छन् ।
“मौखिक रूपमा आएका गुनासोलाई प्राथमिकताका साथ हेरेर तत्काल समाधान गर्ने गरिएको छ”, उनले भने, “आचारसंहिताविपरीत टाँसिएका प्रचारप्रसारका सामग्री हटाउन तथा सार्वजनिक सम्पत्तिमा गरिएका प्रचार नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिने गरिएको छ ।” उनका अनुसार लिखित रूपमा दर्ता भएका उजुरीमाथि आवश्यक छानबिन प्रक्रिया अगाडि बढाइएको छ ।
सम्बन्धित उम्मेदवार वा दलसँग स्पष्टीकरण माग्ने, प्रमाण संकलन गर्ने तथा आवश्यक परे कारबाहीका लागि सिफारिस गर्ने कार्य भइरहेको जनाइएको छ । हालसम्म गम्भीर प्रकृतिको आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी भने नपरेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए।
जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले घरदैलो, कोणसभा, मोटरसाइकल र्याली र टोल भेलामार्फत चुनावी अभियानलाई तीव्रता दिएका छन् । प्रचारप्रसारका क्रममा सार्वजनिक स्थानमा अनधिकृत रूपमा टाँसिएका पोस्टर, ब्यानर तथा ध्वनि प्रदूषणसम्बन्धी गुनासा बढी आएका छन् । तर यस्ता विषयमा लिखित उजुरी भने सीमित मात्रै परेको अनुगमन समितिले जनाएको छ ।
चुनावी अभियान विस्तारसँगै बजार क्षेत्रबाट ग्रामीण बस्तीमा प्रचार सामग्रीको प्रयोग बढेको छ । कतिपय स्थानमा तोकिएको समयभन्दा बाहिर लाउडस्पिकर प्रयोग गरिएको, सार्वजनिकस्थलमा ब्यानर टाँसिएको तथा जुलुस व्यवस्थापनमा कमजोरी देखिएका विषयमा गुनासा आएका छन् । अनुगमन टोलीले दैनिक रूपमा विभिन्न स्थानमा पुगेर आचारसंहिता पालनाको अवस्था मूल्यांकन गरिरहेको जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै राजनीतिक दल, उम्मेदवार र समर्थकलाई आचारसंहिता कडाइका साथ पालना गर्न समितिले आग्रह गरेको छ । जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन प्रशासन र सुरक्षा निकाय सतर्क अवस्थामा रहेका छन् ।