काठमाडौं-४ मा डा. राजन भट्टराई जनताको घर दैलोमा

राष्ट्रपाटी न्युज

फाल्गुन १२, २०८२

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. राजन भट्टराईले आफ्नो प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई व्यापक बनाउदै लगेका छन्। आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिदै जाँदा सबै पार्टीका उम्मेवारले घरदैलो लगायतका कार्यक्रम व्यापक बनाउदै गर्दा भट्टराइ काठमाडौं – ४ मा आफ्नो व्यापक र आक्रामक प्रचार प्रसारमा उत्रिएका छन्।

आज उनले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ मा घर दैलो कार्यक्रम सम्पन्न गरेका छन्। भट्टराईले काठमाडौं–४ अन्तर्गत बूढानीलकण्ठ तथा काठमाडौं महानगरपालिकाका १२ वटै वडाका विभिन्न स्थानमा पुगेर स्थानीय बासिन्दासँग भेटघाटलाई तीव्रता दिएका छन्। घरदैलो कार्यक्रममार्फत जनताको गुनासो सुन्ने, विकास निर्माणका सवालमा सरोकारवालासँग समन्वय गर्ने तथा क्षेत्रका प्राथमिकतालाई अगाडि बढाउने प्रयास उनले जारी राखेका छन्।

भट्टराईले काठमाडौं–४ मा सडक विस्तार, खानेपानी व्यवस्थापन, ढल निकास सुधार, सार्वजनिक यातायातको व्यवस्थित सञ्चालन, सामुदायिक विद्यालयको स्तरोन्नति र स्वास्थ्य सेवाको पहुँच विस्तारलाई  एजेन्डा बनाएका छन्।

परराष्ट्रविद् छविका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलामा स्पष्ट दृष्टिकोण राख्ने नेताका रूपमा परिचित भट्टराईले नेपालका कूटनीतिक सम्बन्ध सुदृढ गर्दै आर्थिक अवसर विस्तार गर्ने विषयलाई पनि आफ्नो एजेन्डामा समेटेका छन्। राष्ट्रिय हित, सुशासन, पारदर्शिता र विकासलाई केन्द्रमा राखेर मतदातासमक्ष प्रस्तुत भइरहेको उनको भनाइ छ।

निर्वाचनमा विगतको अनुभव र राजनीतिक यात्रालाई आधार बनाउँदै यसपटक अझ परिपक्व, योजनाबद्ध र परिणाममुखी नेतृत्व दिने दाबी उनले गरेका छन्। समर्थकहरूले उनलाई अन्य उम्मेदवारभन्दा अनुभवी, सन्तुलित र स्थानीय मुद्दामा गहिरो समझ भएका नेताका रूपमा प्रस्तुत गर्दै आएका छन्।

यसअघि निर्वाचनमा पराजित भएपनि क्षेत्रसँगको सम्बन्ध नटुटाई निरन्तर जनताको घरदैलोमा सक्रिय रहँदै आएको भन्दै उनका समर्थकहरूले यसपटक जनमत आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरेका छन्।

त्यसैगरी सुशासन प्रवर्द्धन, प्रभावकारी कानुन निर्माण र कार्यान्वयनमा जोड दिने उनको भनाइ छ। संसदमा पुगेर जनचासोका विषयलाई कानुनी रूप दिन पहल गर्ने तथा नीतिगत सुधारमार्फत संस्थागत सुदृढीकरण गर्ने उनको योजना छ।

भ्रष्टाचार नियन्त्रणलाई पनि उनले प्राथमिकतामा राखेका छन्। पारदर्शिता, जवाफदेहिता र निगरानी संयन्त्रलाई सशक्त बनाउँदै सार्वजनिक स्रोतसाधनको दुरुपयोग रोक्ने प्रतिबद्धता उनले जनतामाझ व्यक्त गरेका छन्।

फागुन २१ गते हुने निर्वाचनलाई निर्णायक अवसरका रूपमा लिँदै उनले मतदातासँग विकास, सुशासन र पारदर्शिताको पक्षमा मत दिन अपिल गरेका छन्। काठमाडौं–४ मा यसपटकको प्रतिस्पर्धालाई अर्थपूर्ण र परिणाममुखी रूपमा हेरिएको छ।


Published :फाल्गुन १२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media