राप्रपाका पूर्व नगर अध्यक्ष भुवन बागसहित २५ सदस्य एमाले प्रवेश

राष्ट्रपाटी न्युज

फाल्गुन १४, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व मध्यपुर नगर अध्यक्ष भुवन बागको नेतृत्वमा नगर कोषाध्यक्ष शलिम पुजारी, नगर सचिव मानबहादुर राजवाहकसहित २५ सदस्यीय नगर कमिटी नेकपा (एमाले) मा प्रवेश गरेको छ।

नेकपा (एमाले) का सचिव तथा भक्तपुर–२ का प्रतिनिधिसभा उम्मेदवार महेश बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी गराउँदै नवप्रवेशी सबैलाई पार्टीमा स्वागत गरेका छन्।

बस्नेतले भिडियोसहित आफ्नो स्टाटसमा लेखेका छन्, “राप्रपाका पूर्व मध्यपुर नगर अध्यक्ष भुवन बागको नेतृत्वमा नगर कोषाध्यक्ष शलिम पुजारी, नगर सचिव मानबहादुर राजवाहकसहित २५ सदस्यीय नगर कमिटी हाम्रो गौरवशाली पार्टी नेकपा ९एमाले० मा प्रवेश गर्नुभएकोमा हार्दिक स्वागत तथा उहाँहरूको राजनीतिक र सामाजिक जीवन सफलताको शुभकामना व्यक्त गर्दछु।”

उनले पार्टीमा प्रवेश गर्ने सबैलाई एमालेको नीति, विचार र कार्यक्रमअनुसार संगठित भई अघि बढ्न आग्रह गरेका छन्। राप्रपाबाट सामूहिक रूपमा एमाले प्रवेश भएपछि मध्यपुर क्षेत्रमा एमालेको संगठन थप बलियो हुने नेताहरूको भनाइ छ।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरूले देशमा स्थायित्व, विकास र सुशासनका लागि नेकपा (एमाले) को नेतृत्व आवश्यक रहेको निष्कर्षका साथ पार्टी प्रवेश गरेको बताएका छन् ।


Published :फाल्गुन १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media