आजदेखि फेरि देशभर हुरीबताससहित वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

चैत्र १३, २०८२

काठमाडौँ । नेपालमा पुनः मौसम बदली भई आज (शुक्रबार) देखि देशका धेरै क्षेत्रमा वर्षा, हुरीबतास तथा चट्याङ र असिना पर्ने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार थप मौसम बदली भई वर्षा गराउने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले साँझबाटै बदली बढेको र शुक्रबारबाट ठाउँठाउँमा वर्षा हुने बताए।

बिहीबार साँझ गोरखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, सङ्खुवासभा, खोटाङ, नुवाकोटलगायत केही ठाउँमा वर्षा भएको र यो क्रम आज रातिदेखि केही बढ्ने बताइएको छ।

महाशाखाले बिहीबार साँझ जारी गरेको मौसम बुलेटिनअनुसार शुक्रबार देशको हिमाली भूभागमा आंशिक बादल, पहाडी भूभागमा साधारणतया बादल लाग्ने र सबै प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।

शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने बाँकी भूभागमा आंशिक बादल लाग्ने तथा कोशी, मधेस, बागमती प्रदेशका केही स्थान तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।


Published :चैत्र १३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media