
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ।
गत शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेर २ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो भने त्यसअघि बिहीबार ५ हजार ५ सय रुपैयाँले घटेको थियो। आजको वृद्धिसँगै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। आज चाँदीको भाउ तोलामा ३०५ रुपैयाँले वृद्धि भई ५ हजार ३४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। आज एक औँस सुन ४ हजार ७३० अमेरिकी डलर र चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यसअघि गत माघ १५ गते पनि सुनको मूल्यमा तोलामा २० हजार ५ सय रुपैयाँकै वृद्धि भएको थियो। त्यतिबेला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारको अहिलेसम्मकै सर्वाधिक मूल्य मानिन्छ।
चाँदीतर्फ, माघ १५ गते तोलाको मूल्य ७ हजार ५०५ रुपैयाँ पुगेर ऐतिहासिक उच्चता छोएको थियो भने माघ १८ गते तोलामा १ हजार ५६५ रुपैयाँले घट्दै अहिलेसम्मकै ठूलो गिरावटसमेत दर्ज भएको थियो ।