गगन थापालाई सभापति नमान्ने देउवापक्षीय कांग्रेसको प्रष्टोक्ति

राष्ट्रपाटी न्युज

चैत्र १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको समूहले समानान्तर गतिविधि तीव्र पारेको छ ।
निवर्तमान सभापति देउवा विदेशमा रहे पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा मंगलबार काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा उक्त समूहको भेला सुरु भएको छ ।

फागुन २१ गतेको चुनावी परिणामपछि पार्टी फुट्ने आशंका बढिरहेका बेला चौधौँ महाधिवेशनबाट निर्वाचित १२३ जना केन्द्रीय कार्यसमिति सदस्यहरू भेलामा सहभागी भएको दाबी गरिएको छ ।

मंगलबारदेखि सुरू भएको भेलामा अहिलेसम्म १५ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिसकेका नेता मानबहादुर नेपालीले बताए । बैठकमा जम्मा १२३ जना केन्द्रीय कार्यसमिति सदस्य सहभागी भएको बताइएको छ ।

भेलामा सहभागी नेताहरूले सर्वोच्च अदालतले पार्टीको आधिकारिकताबारे अन्तिम फैसला नदिँदासम्म गगन थापालाई सभापति नमानेको प्रष्ट पारेका छन् ।

‘कांग्रेसको प्रचलित नियम र विधानलाई मिचेर गगन थापाले फागुन २१ को निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाममा हस्ताक्षर गरेका हुन्’, नेपालीले अगाडि भने, ‘अदालतको फैसलापछि हामी ठोस निर्णय गरेर अघि बढ्छौँ ।’

बैठकमा सहभागी नेताहरूले पनि यही कुरा राखेको जानकारी नेपालीले दिएका छन् ।


Published :चैत्र १७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media