
काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई दिइएको पक्राउ पूर्जी र म्याद थप कानुन संगत नदेखिएको ठहर गर्दै तत्काल थुनामुक्त गर्न आदेश दिएको छ।
सर्वोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।
यसअघि नै खड्काको तर्फबाट श्रीमती बिनिता थापाले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएसँगै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा खड्काको निवासबाट ठूलो परिणाममा विदेशी मुद्रासमेत नष्ट भएको थियो। सो रकम गैरकानुनी तरिकाले आर्जन गरेको हुनसक्ने आधारमा सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरू भएको थियो। सोही क्रममा खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको समन्वयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले जरुरी पक्राउ पूर्जी जारी गरेको थियो।
सर्वोच्चले बुधबार बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको थियो । उक्त मुद्दामा बधुबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिँह थापाको इजलासमा सुनुवाइ भएको थियो ।
सर्वोच्चले उक्त मुद्दाको आज बिहीबारको लागि तोकेर थुनामुक्त गर्न आदेश दिएको हो । नेता खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो ।
सम्पत्ति शुद्धीकरण विभागले जेन(जी आन्दोलनको क्रममा खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा अनुसन्धान गरिरहेको छ ।
बुधबार मात्रै सर्वोच्चले राजस्व अनुसन्धान विभागलाई बिहीबार १२ बजेभित्रमा लिखित जवाफ पेश गर्न र अनुसन्धानको फाइल बुझाउन आदेश दिएको थियो।