संसद्का ११ समिति सभापतिमा रास्वपाको उम्मेदवारी

राष्ट्रपाटी न्युज

बैशाख ३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्रतिनिधिसभाअन्तर्गतका विषयगत र संयुक्त गरी ११ वटा संसदीय समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएको छ।
बिहीबार रास्वपाका सांसदहरूले प्रतिनिधिसभाका नौ विषयगत र दुई संयुक्त समितिमा उम्मेदवारी दिएका हुन्। प्रतिनिधिसभामा १० विषयगत र दुई संयुक्त समिति रहे पनि सार्वजनिक लेखा समितिको सभापति भने रास्वपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरिसकेको छ।
रास्वपाका तर्फबाट कानून, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थीले उम्मेदवारी दिएका छन्।
त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, उद्योग, वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिमा रहबर अन्सारी तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्नीमा उदासले उम्मेदवारी दर्ता गराएका छन्।
संयुक्त समितितर्फ संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्कीले उम्मेदवारी दिएका छन् ।


Published :बैशाख ३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media