बैशाख ११ गते देखि दोस्रो बुढानीलकण्ठ खेलकुद शिल्ड आयोजना हुने

राष्ट्रपाटी न्युज

बैशाख ८, २०८३

बुढानिलकण्ठ। बुढानीलकण्ठ नगरपालिका खेलकुद बोर्डले दोस्रो बुढानीलकण्ठ नगरपालिका खेलकुद शिल्ड आयोजना गर्ने भएको छ।

आगामी बैशाख ११, १२ र १३ गते तिन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा करिव ५०० खेलाडीहरुको सहभागिता रहने बुढानीलकण्ठ नगरपालिका खेलकुद बोर्डले जानकारी दिएको छ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित ह्याण्डबल मैदानमा उद्घाटन समारोह आयोजना हुनेछ भने बिभिन्न अन्य खेल मैदानहरुमा अन्य खेलहरु संचालन गरिने छ।

प्रतियोगिताको आधिकारिक शुभंकर (मास्कट) “स्वर्ग चरी” रहनेछ, जसले उत्साह, ऊर्जा र स्थानीय पहिचानलाई प्रतिनिधित्व गर्ने बताइएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई नगद पुरस्कार प्रदान गरिनेछ भने प्रतियोगिताको आकर्षणको रूपमा रहेको रनिङ ट्रफी लगातार तीन पटक जित्ने टोलीलाई स्थायी रूपमा प्रदान गरिनेछ । खेलाडीहरूको सुरक्षालाई प्राथमिकता दिँदै, आयोजकले सबै सहभागी खेलाडीका लागि बीमा व्यवस्था गरेको जानकारी दिएको छ ।

दोस्रो बुढानीलकण्ठ नगरपालिका खेलकुद शिल्ड सम्बन्धि जानकारी दिन बुढानीलकण्ठ नगरपालिका खेलकुद बोर्डले आज पत्रकार सम्मेलन आयोजना गरेको थियो। सम्मेलनमा नगर उपप्रमुख अनिता लामा , बुढानीलकण्ठ नगरपालिका खेलकुद बोर्डका अध्यक्ष सुमन तामाङ्ग , उपाध्यक्ष दिपक तामाङ्ग तथा अन्य पदाधिकारीहरु , विभिन्न वडाका वडाध्यक्षहरु, नगर युवा परिषदका उपाध्यक्ष तथा पदाधिकारीहरु,खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो। उक्त प्रतियोगितामा करिव ४० लाख बराबरको बजेट खर्च हुने अनुमान गरिएको छ।

नगरपालिका खेलकुद बोर्डले यस कार्यक्रमले स्थानीय प्रतिभालाई उजागर गर्ने, युवा पुस्तालाई खेलकुदमा प्रेरित गर्ने तथा समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।


Published :बैशाख ८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media