
काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार बिहान वायु प्रदूषण उल्लेख्य रूपमा बढेको देखिएको छ। हावाको गुणस्तर मापन गर्ने सूचक ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अनुसार बिहान ७:२५ बजेको अवस्थासम्म उपत्यका विश्वकै दोस्रो प्रदूषित सहरको सूचीमा परेको छ।
हाल काठमाडौँ उपत्यकाको एक्यूआई १८४ पुगेको छ, जसले हावाको अवस्था अस्वस्थकर तहमा रहेको संकेत गर्दछ। यस्तो स्तरको प्रदूषणले विशेषगरी श्वासप्रश्वास तथा मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरूलाई बढी असर पार्न सक्ने देखिन्छ।
यसैबीच, भारतको राजधानी नयाँ दिल्ली यतिबेला विश्वकै सबैभन्दा बढी प्रदूषित सहरको रूपमा पहिलो स्थानमा रहेको छ। त्यहाँको एक्यूआई २४८ पुगेको छ, जुन अत्यन्तै अस्वस्थकर स्तर मानिन्छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि एक्यूआई ३५ भन्दा कम उपयुक्त मानिन्छ भने ५० सम्मको स्तरलाई सामान्य अवस्थामै राखिन्छ। तर, यसभन्दा माथिको स्तरले क्रमशः स्वास्थ्यमा जोखिम बढाउँदै लैजान्छ।
सामान्यतया ५१ देखि १०० सम्मको एक्यूआईलाई सावधानी अपनाउनुपर्ने अवस्था मानिन्छ भने १०१ देखि १५० सम्म पुगेमा श्वासप्रश्वास र मुटुका बिरामीहरूका लागि जोखिम बढ्ने संकेत हुन्छ। १५१ देखि २०० सम्म अस्वस्थकर, २०१ देखि ३०० सम्म अत्यन्त अस्वस्थकर, ३०१ देखि ४०० सम्म खतरनाक र ४०० भन्दा माथि पुगेमा अत्यन्तै जोखिमपूर्ण अवस्थाको रूपमा लिइन्छ।
विशेषज्ञहरूले यस्ता अवस्थामा अनावश्यक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र स्वास्थ्यप्रति सजग रहन सुझाव दिएका छन्।