
काठमाडौं । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघले रिक्त रहेका राहत तथा अस्थायी कोटाहरूलाई दरबन्दीमा रूपान्तरण गरी खुला प्रक्रियाबाट पदपूर्ति गर्न माग गरेको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अनुभवका आधारमा विद्यमान जनशक्तिको व्यवस्थापन गर्नुपर्ने र रिक्त रहेका राहत तथा अस्थायी कोटाहरूलाई दरबन्दीमा रूपान्तरण गरी खुला प्रक्रियाबाट पदपूर्ति गर्न माग गरेको हो। त्यस्तै अस्थायी प्रकृतिका शिक्षक कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने, आगामी शिक्षा ऐनमार्फत विद्यमान समस्याहरू समाधान गर्नुपर्ने लगायत उनीहरूको माग छ।
पत्रकार सम्मेलनमा महासंघका संयोजक विष्णु खत्रीले आफ्ना मागका बारेमा पहिलो चरणमा सरकारलाई ध्यानाकर्षण गराउने र त्यसपछि संघर्षका कार्यक्रमहरू अगाडि बढाउने चेतावनी दिए। विगत लामो समयदेखि आफूहरूले विभिन्न माग राखेर आन्दोलन गर्दै आएको तर सरकारले सम्बोधन नगरेको उनको भनाइ छ। उनले नेपाल शिक्षक महासंघले अस्थायी तथा राहत शिक्षक कर्मचारीहरूलाई बेवास्ता गरेसँगै आफूहरू छुट्टै महासंघ बनाउन बाध्य भएको उल्लेख गरे।
त्यस्तै नेपाल राहत शिक्षक राष्ट्रिय समितिका संरक्षक खेमराज अधिकारीले वर्षौंदेखि राज्य तथा स्वयम् शिक्षक महासंघबाटै अस्थायी शिक्षकहरू अपहेलित भएकाले अस्थायी प्रकृतिका शिक्षक कर्मचारीहरूको छुट्टै महासंघ गठन गर्नुपरेको जानकारी दिनुभयो। महासंघले दलगत गतिविधिमा पूर्ण असंलग्नता, ट्रेड यूनियन अधिकारको रक्षा, गोल्डेन हेण्डसेकको व्यवस्था लगायतका १५ बुँदे घोषणापत्र समेत जारी गरेको छ।