
काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगित गरेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दलहरू एकजुट हुने भएका छन् । यसै सन्दर्भमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा आज विपक्षी दलहरूको संसदीय दलको बैठक बस्दैछ ।
प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन् । बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेतालाई पनि आमन्त्रण गरिएको छ ।
बैठकमा सरकारले संसद् छल्दै अध्यादेश ल्याएको विषय, संसद् अधिवेशन स्थगनको निर्णय तथा त्यसविरुद्ध विपक्षी दलहरूले अपनाउने साझा रणनीतिबारे विस्तृत छलफल हुने जनाइएको छ ।
सरकारले मंगलबार मात्रै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि अध्यादेश पठाएपछि संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याइएको विषय सार्वजनिक भएको थियो । त्यसलगत्तै प्रमुख विपक्षी नेता आङ्देम्बेले सरकारको कदमलाई अलोकतान्त्रिक, बलमिच्याइँपूर्ण र सार्वभौम संसद्को अपमान भएको टिप्पणी गरेका छन् ।
उनले लोकतन्त्र, जनअभिमत र संविधानको मर्ममाथि आघात पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै त्यसविरुद्ध कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । दुई तिहाइ नजिकको बहुमत हुँदाहुँदै पनि अध्यादेश ल्याउनु सरकारको आफ्नै बहुमतप्रति अविश्वास भएको उनको भनाइ छ।
सरकारले अध्यादेश ल्याउने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकबाट गरेको भए पनि यसबारे तत्काल सार्वजनिक जानकारी दिइएको थिएन । सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमा समेत यस विषयमा नखुलाएपछि पारदर्शितामाथि प्रश्न उठेको छ ।