स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल तथा बोर्डमा निमित्त निर्देशक नियुक्त

राष्ट्रपाटी न्युज

बैशाख २४, २०८३

काठमाडौँ । सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी भएपछि रिक्त रहेका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल तथा बोर्डमा निमित्त निर्देशक नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज दैनिक प्रशासनिक तथा स्वास्थ्य सेवा सञ्चालनलाई सहज बनाउने उद्देश्यले रिक्त रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र स्वास्थ्य बिमा बोर्डमा निमित्त नेतृत्व तोकेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा प्राडा समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा डा नरेन्द्र विक्रम गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्राडा विनम्र विष्ट नियुक्त भएका छन् ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्राडा इन्द्र लिम्बू, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको निमित्त निर्देशकमा सह प्राडा सुरेश रसाइली नियुक्त भएको मन्त्रालयले जनाएको छ । भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पताल क्यान्सर अस्पतालको निमित्त निर्देशकमा डा उमेश नेपाल र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा सहप्रा डा रविन्द्र भक्त तिमला नियुक्त भएका छन् । त्यसैगरी, स्वास्थ्य बिमा बोर्डको निमित्त निर्देशकमा शकुन्तला प्रजापति नियुक्त भएकी छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निषा मेहताले यी स्वास्थ्य यी प्रतिष्ठान, अस्पताल र बोर्डका दैनिक कामकाज प्रभावित हुन नदिन अस्थायी रूपमा निमित्त निर्देशक तोकिएको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले छिट्टै खुला प्रतिस्पर्धामार्फत नेतृत्व छनोट प्रक्रिया अघि बढाइनेछ ।


Published :बैशाख २४, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media