
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका पुनः संशोधन गरिएको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीले तेस्रोपटक संशोधित तालिका सार्वजनिक गरेका हुन् ।
नयाँ कार्यतालिकाअनुसार आज साँझ ७ बजेदेखि ७:३० बजेसम्म सभापति पदका लागि उम्मेदवारी फाराम वितरण तथा दर्ता गरिनेछ। केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ताको समय साँझ ७:३० बजेदेखि राति ९:३० बजेसम्म तोकिएको छ।
निर्वाचन आयोगले उम्मेदवारहरूको प्रारम्भिक नामावली राति १० बजे प्रकाशन गर्ने जनाएको छ। उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ताका लागि राति १०:३० बजेसम्मको समय निर्धारण गरिएको छ।
दाबी–विरोधमा परेका उजुरीहरूको जाँचबुझ राति ११ बजेसम्म सम्पन्न गरिनेछ भने उम्मेदवारी फिर्ता लिने अन्तिम समय राति ११:१५ बजेसम्म तोकिएको छ। उम्मेदवारहरूको अन्तिम नामावली राति ११:४५ बजे प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।
यससँगै राति ११:४५ बजेदेखि मौन अवधि सुरु हुनेछ। सभापति र केन्द्रीय सदस्य पदका लागि पहिलो चरणको मतदान बुधबार बिहान हुने तय भए पनि मतदानको समय भने अझै सार्वजनिक गरिएको छैन।
निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न भएको दुई घण्टाभित्र पहिलो चरणको मतगणना र परिणाम घोषणा गरिनेछ। दोस्रो चरणको उम्मेदवारी तथा अन्य निर्वाचन कार्यक्रमको तालिका भने पछि सार्वजनिक गरिने जनाइएको छ।