संसद्को बजेट अधिवेशन सोमबारदेखि, नीति तथा कार्यक्रम भोलि नै प्रस्तुत गरिने

राष्ट्रपाटी न्युज

बैशाख २७, २०८३

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ ।

रामचन्द्र पौडेल ले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरि का अनुसार संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले अपराह्न ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । उक्त धाराअनुसार प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

संयुक्त बैठकमा सहभागी हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई अपराह्न ३ः४५ बजेअघि नै उपस्थित हुन संसद् सचिवालयले अनुरोध गरेको छ ।
त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी गराइने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी सूचनाबारे सदनलाई अवगत गराइने तथा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यसैगरी, प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत जारी गरिएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गरिने र नियमावलीको मस्यौदामाथि पनि छलफल हुने कार्यसूची छ ।

सरकारले जारी गरेका विभिन्न अध्यादेशहरू पनि संसद्मा पेस गरिने भएका छन् । ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभामा पेस गरिने संसद् सचिवालयले जनाएको छ ।


Published :बैशाख २७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media