प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडासचिवलाई धम्की दिने खड्का पक्राउ

राष्ट्रपाटी न्युज

जेष्ठ २, २०८३

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गर्ने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज सुर्खेत घर भई काठमाडौँको शङ्खमुल बस्ने वर्ष २२ का प्रकाश खड्कालाई पक्राउ गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलेको भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत् उनले धम्की दिएको अडियो सार्वजनकि भएको थियो । उक्त अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गरी सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।
जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि भय र त्रास सिर्जना गर्ने, अमर्यादित व्यवहार गर्ने तथा दबाब दिने गतिविधि पूर्णतः निन्दनीय र अक्षम्य रहेको विज्ञप्तिमा उल्लेख छ । कुनै पनि व्यक्तिले प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गरी फोन वा भेटमार्फत धम्की दिने, बार्गेनिङ गर्ने वा अनुचित दबाब सिर्जना गर्ने प्रयास गरेमा त्यस्ता भ्रममा नपर्न पनि कार्यालयले अनुरोध गरेको छ ।
त्यस्ता शङ्कास्पद फोन, सन्देश वा संवादहरू आधिकारिक माध्यमबाट प्रमाणीकरण गरेर मात्र काम कारबाही अघि बढाउन पनि भनिएको छ ।


Published :जेष्ठ २, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media