२९ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

राष्ट्रपाटी न्युज

जेष्ठ ६, २०८३

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२–८३ को वैशाख मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ४ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको वैशाख महिनाको मासिक प्रतिवेदन अनुसार यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत हुन आउँछ ।

चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा समीक्षा अवधिमा विनिमय दरमा भएको नोक्सानीसहित थप ३ खर्ब ९९ अर्बले वृद्धि भएको हो । हाल कायम कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.५७ प्रतिशत (१५ खर्ब ९३ अर्ब ८१ करोड) र आन्तरिक ऋणको हिस्सा ४६.४३ प्रतिशत (१३ खर्ब ८१ अर्ब २२ करोड) रहेको छ ।

लक्ष्यको ६१ प्रतिशत मात्र ऋण प्राप्ति

सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर, वैशाख मसान्तसम्ममा ३ खर्ब ६५ अर्ब १६ करोड मात्र ऋण प्राप्ति भएको छ, जुन वार्षिक लक्ष्यको ६१.३० प्रतिशत मात्र हो ।

ऋण प्राप्तिको प्रगतितर्फ आन्तरिक ऋण उत्साहजनक देखिए पनि वैदेशिक ऋण भने न्यून छ । आन्तरिक ऋण लक्ष्यको ८२.५० प्रतिशत (२ खर्ब ९८ अर्ब ६६ करोड) प्राप्त भइसकेको छ भने वैदेशिक ऋण लक्ष्यको केवल २८.४६ प्रतिशत (६६ अर्ब ४९ करोड) मात्र प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।


Published :जेष्ठ ६, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media