जेनजी घटनामा टिओबी समूहमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

राष्ट्रपाटी न्युज

जेष्ठ १३, २०८३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएको घटनामा भिडलाई उक्साएर सुरक्षाफौजमाथि हिंसात्मक व्यवहार गर्न उक्साएको आरोपमा ‘टीओबी’ समूहसहित अन्य व्यक्तिमाथि अनुसन्धान गरी कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगले भदौ २३–२४ को घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै उक्त समूहको भूमिकामाथि सूक्ष्म अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

आयोगका अनुसार माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने भनिएको कार्यक्रमलाई नयाँ बानेश्वरस्थित संसद् भवनतर्फ मोडेर भिडलाई उक्साइएको र संसद् भवनको सुरक्षामा रहेका सुरक्षाफौजमाथि समेत हिंसात्मक गतिविधि गराउन प्रेरित गरिएको देखिएको छ ।

प्रतिवेदनमा भनिएको छ, आयोगको अधिकार क्षेत्र सीमित भएकाले विस्तृत अनुसन्धान गर्न नसकिएको तर टीओबी समूह तथा अन्य व्यक्तिहरूको भूमिकामाथि गहिरो अनुसन्धान आवश्यक रहेको छ ।

आयोगले दोषी प्रमाणित भएमा उनीहरूलाई कानूनअनुसार कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

यसअघि पनि आयोगले विभिन्न पक्षहरूको भूमिकामाथि अनुसन्धान सिफारिस गर्दै आएको सन्दर्भमा यो प्रतिवेदनले जेनजी आन्दोलनका घटनामा संलग्न विभिन्न समूह र व्यक्तिमाथि थप छानबिनको बाटो खोलिदिएको छ ।


Published :जेष्ठ १३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media