
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामप्रति आशंका व्यक्त गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा प्राप्त परिणामका पछाडिका कारणबारे खोजी भइरहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको उल्लेख्य सिट संख्यालाई उनले ‘सुनामी’को संज्ञा दिँदै त्यसका कारणहरू समयक्रममा स्पष्ट हुँदै जाने विश्वास व्यक्त गरे ।
उनले निर्वाचनका क्रममा सेना, सरकार, निर्वाचन आयोग तथा मतपत्र व्यवस्थापनको भूमिकाबारे विभिन्न प्रश्नहरू उठिरहेको उल्लेख गर्दै ती विषय एक दिन सार्वजनिक रूपमा खुल्ने दाबी गरे ।
पूर्वप्रधानमन्त्री नेपालले वि.सं. २०४७ सालको संविधान निर्माणकै क्रममा महिला र दलित समुदायको विशेष प्रतिनिधित्व सुनिश्चित गर्न आफूहरूले पहल गरेको स्मरण गरे । संविधानसभामार्फत संविधान निर्माणको प्रक्रियामा महिलाको नेतृत्व तथा प्रतिनिधित्वलाई संस्थागत गर्न महत्वपूर्ण संवैधानिक व्यवस्था गरिएको उनको भनाइ थियो।
उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत राज्यका विभिन्न निकायमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने व्यवस्था आफ्नो राजनीतिक धारले अघि बढाएको उल्लेख गरे । वर्तमानमा निर्वाचित नयाँ दलका केही प्रतिनिधिहरूलाई लक्षित गर्दै उनले मुलुकको राजनीतिक परिवर्तन र अधिकार प्राप्तिको इतिहासबारे उनीहरू पर्याप्त जानकार नरहेको टिप्पणी गरे ।
पछिल्लो निर्वाचन परिणामलाई अस्थायी राजनीतिक ‘सुनामी’को रूपमा व्याख्या गर्दै उनले पार्टी कार्यकर्तालाई रक्षात्मक नबन्न आग्रह गरे । विपक्षीहरू आक्रामक देखिए पनि आफ्ना कार्यकर्ता विचलित हुनुपर्ने वा पछि हट्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।
उनले विगतका उपलब्धि र योगदानको रक्षा गर्दै आगामी दिनमा अझ दृढताका साथ अघि बढ्न पार्टी पंक्तिलाई आह्वान गरे ।