हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी नेपालको राजनीतिक पुनर्जागरणको अभियान भएको बताएका छन् । पार्टीको चौँथो स्थापना दिवसको अवसरमा चितवनमा आयोजित प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्रीसमेत रहेका   उनले रास्वपा सकारात्मक परिवर्तनको आकाङ्क्षाको राजनीतिक अभिव्यक्ति भएको बताए ।
डा वाग्लेले आफूहरूको उद्देश्य केबल सरकार परिवर्तन मात्र नभई राजनीतिक संस्कार परिवर्तन गर्नु रहेको धारणा राखे । रास्वपा विवेक, विधि र नियममा आधारित शासन प्रणाली, योग्यता प्रणाली तथा नागरिक केन्द्रित लोकतन्त्रका पक्षमा रहेको उनले स्पष्ट पारे । उनले रास्वपा पुरानो पुस्तासँग सङ्घर्ष गर्न नभई नयाँ राजनीतिक संस्कार स्थापित गर्न आएको उल्लेख गरे ।

नेता डा वाग्लेले भने, “नयाँ पुस्ताले केबल प्रश्न सोध्न मात्र होइन, उत्तर दिन र शासन सञ्चालन गर्न पनि सक्छ भन्ने प्रमाणित गर्नुपर्छ ।” भविष्यको नेपालको परिकल्पना प्रस्तुत गर्दै उहाँले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्य निर्माण रास्वपाको लक्ष्य रहेको बताए । उनले अवसरका लागि युवाले विदेशिनुपर्ने बाध्यता अन्त्य हुने, किसान र श्रमिकले सम्मानपूर्वक बाँच्नसक्ने तथा उद्यमीले निर्भय भएर लगानी गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्री डा वाग्लेले आत्मनिर्भर र आत्मविश्वासी नेपाल निर्माणका लागि नागरिकको क्षमता, संस्थागत सुदृढता र राष्ट्रिय आत्मविश्वासलाई केन्द्रमा राख्नुपर्ने उल्लेख गरे । पार्टीको महाधिवेशनलाई नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भको रूपमा चित्रण गर्दै निराशालाई आशामा, आक्रोशलाई निर्माणमा र विद्रोहलाई रूपान्तरणमा बदल्ने अभियानमा सहभागी हुन सबैलाई आह्वान गरे ।

“गैरजिम्मेवारीबाट जवाफदेहितातर्फ, संरक्षणवादबाट प्रतिस्पर्धातर्फ र बरालिएको राजनीतिबाट परिणाममुखी लोकतन्त्रतर्फको यात्राको उद्घोष हुन्छ”, नेता डा वाग्लेले भने । रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी छ । महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गर्दै छन् ।


Published :असार ७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media