विश्वकपः बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा, अबको प्रतिस्पर्धा फ्रान्ससँग

राष्ट्रपाटी न्युज

असार २७, २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै स्पेन विजयी भएको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा बेल्जियमलाई दुई-एक गोल अन्तरले पराजित गर्दै स्पेन विजयी भएको हो ।

यो जितसँगै स्पेन जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा दुवै टोलीले पहिलो हाफमा एकएक गोलको बराबरी खेलेका थिए । एक गोलले पछि परेको ११ मिनेटपछि बेल्जियमले बराबरी गोल फर्काएको थियो ।

खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । बेल्जियमका चाल्र्स डे केटलेरले ४१औँ मिनेटमा बराबरी गोल फर्काए ।

उनले टिमोथी कास्टाग्नेको असिस्टमा हेडरमार्फत आकर्षक गोल गरेका थिए । खेलको ८८ औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले जितका लागि निर्णायक गोल गरेका थिए ।

१७औं पटक विश्वकप खेलिरहेको स्पेनको यो तेस्रो सेमिफाइनल यात्रा हो । यसअघि सन् १९५० र २०१० मा सेमिफाइनलमा पुगेको थियो । सन् २०१० मा च्याम्पियन बन्दा १९५० मा भने चौथो बनेको थियो ।

स्पेनसँग पराजित भएको बेल्जियमको यात्रा क्वार्टरफाइनलमै रोकिएको छ । यसअघि सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको बेल्जियम सन् २०१८ को विश्कपमा तेस्रो बनेको थियो । सन् २०२२ को विश्वकपमा भने समूह चरणबाट बाहिरिएको थियो ।

अब स्पेनले सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ ।


Published :असार २७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media