
बागलुङ । मोबाइल फोन नदिएको विवादमा बागलुङमा १७ वर्षीय किशोरको हत्या भएको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिका–१ निवासी १७ वर्षीय लजिन थापाको हत्या उनकै साथीहरूले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। उनको शव बिहीबार स्थानीय मनखोलामा फेला परेको थियो।
घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार साउन १ गते असिम वनको जन्मदिन मनाउने क्रममा साथीहरू रातिसम्म मदिरा सेवन गरेका थिए। घर फर्कने क्रममा लजिनसँग रहेको आइफोन माग्दा नदिएपछि उनीहरूबीच विवाद भएको र त्यसपछि कुटपिट गरी हत्या गरिएको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार कुटपिटबाट बेहोस भएका लजिनको मृत्यु भएपछि आरोपितहरूले घटनास्थलबाट करिब आधा घण्टाको दूरीमा शव लगेर लुकाएका थिए।
प्रहरी उपरीक्षक प्रसाईंले जन्मदिन कार्यक्रममा सात जना सहभागी भए पनि अन्य साथी घर फर्किएपछि रेमबहादुर विक र ददी परियारले लजिनलाई पछ्याएर एकान्तस्थलमा आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउनुभयो। घटनाका बेला एक नौ वर्षीय बालक पनि जन्मदिन कार्यक्रममा सहभागी रहेको प्रहरीले जनाएको छ।
लजिन बेपत्ता भएको एक सातासम्म पनि कुनै जानकारी नआएपछि प्रहरीले प्राविधिक टोली, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको सहयोगमा खोजी अभियान सञ्चालन गरेको थियो। त्यसक्रममा मनखोलाबाट उनको शव फेला परेको हो।
प्रहरीले पक्राउ परेकाविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौंको धुम्बाराहीस्थित साइपाल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन केही समयअघि बिदामा घर आएका थिए। साथीको जन्मदिन मनाउन गएका उनी आफ्नै साथीहरूको आक्रमणमा परी ज्यान गुमाउन पुगेका हुन्।