
काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा देशभर श्रद्धा, सम्मान र कृतज्ञताका साथ मनाइँदैछ । ज्ञान, शिक्षा, संस्कार र जीवनको सही मार्ग देखाउने गुरुप्रति सम्मान प्रकट गर्दै विद्यालय, विश्वविद्यालय, धार्मिक संस्था तथा विभिन्न सामाजिक संघ-संस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् । वैदिक परम्परादेखि मनाइँदै आएको गुरुपूर्णिमा धर्मग्रन्थ महाभारतका रचयिता तथा वेदका विभाजक महर्षि वेदव्यासको जन्मजयन्तीका रूपमा समेत मनाइने भएकाले यस दिनलाई व्यास जयन्ती पनि भनिन्छ । वैदिक सभ्यतादेखि गुरुको सम्मानमा यो पर्व मनाउने परम्परा रही आएको छ ।
संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश मानिन्छ । अज्ञानरूपी अन्धकार हटाई ज्ञानको उज्यालो फैलाउने व्यक्तित्वलाई गुरु भनिन्छ । हिन्दु दर्शनले गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरसरह सम्मान गर्दै जीवनलाई सही दिशा दिने सर्वोच्च मार्गदर्शकका रूपमा व्याख्या गरेको छ । शास्त्रमा देवताले समाधान गर्न नसकेका जटिल प्रश्नको समेत गुरुले समाधान गर्नसक्ने विश्वास व्यक्त गरिएको छ ।
नेपाली समाजमा माता-पितापछि गुरुलाई उच्च स्थान दिइएको छ । ‘आचार्यदेवो भव’ भन्ने वैदिक वाक्यले गुरुलाई देवतासमान सम्मान गर्नुपर्ने सन्देश दिन्छ । शिक्षा, सीप, कला, संस्कार र नैतिक मूल्यको विकास गुरुको मार्गदर्शनबिना सम्भव नहुने विश्वासका आधारमा गुरुपूर्णिमा ज्ञान र संस्कारप्रतिको आस्थाको पर्वका रूपमा स्थापित भएको छ ।
यसै अवसरमा वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्ने तथा १८ पुराण र १८ उपपुराणको रचना गरेर वैदिक ज्ञानलाई सरल रूपमा जनमानससम्म पुर्याउने महर्षि वेदव्यासको योगदान पनि स्मरण गरिन्छ । उनले प्रतिपादन गरेको ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरूको उपकार गर्नु पुण्य र अरूलाई पीडा दिनु पाप हो भन्ने सन्देश आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ । गौतम बुद्धले आजकै दिन धर्मचक्र प्रवर्त्तन अर्थात् पहिलो उपदेश दिएका थिए ।
धार्मिक ग्रन्थ अनुसार महर्षि व्यासका पिता परासर ऋषि र माता सत्यवती हुन् । उनी अष्ट चिरञ्जीवीमध्ये एक मानिन्छन् । तनहूँस्थित व्यास गुफा उनले तपस्या गरेको पवित्र स्थलका रूपमा परिचित छ, जहाँ हरेक वर्ष गुरुपूर्णिमाका अवसरमा विशेष पूजा-आराधना तथा धार्मिक कार्यक्रम सञ्चालन हुने गरेका छन् ।
गुरुपूर्णिमाले शिक्षक वा धार्मिक गुरुप्रति सम्मान व्यक्त गर्ने अवसरमात्र नभई ज्ञान, अनुशासन, नैतिकता र मानवताको मूल्यलाई आत्मसात् गर्ने प्रेरणा दिने पर्वका रूपमा विशेष महत्त्व राख्छ । यस अवसरमा देशभरका शैक्षिक संस्था, आश्रम र मठ-मन्दिरमा गुरु सम्मान, व्यास पूजा, प्रवचन तथा धार्मिक अनुष्ठानका कार्यक्रम आयोजना गरिएका छन् ।