पाँच लाख नगदसहित लागूऔषध कारोबारी पक्राउ

राष्ट्रपाटी न्युज

साउन १९, २०८३

नेपालगन्ज । प्रहरीले बाँकेमा नगद पाँच लाखसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा सोमबार दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–४ स्थित न्युरोडमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले ५२६ दशमलव २९० ग्राम लागु औषधसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–४ का ३० वर्षीय सुशील भण्डारीका साथबाट १३६ ग्राम ८५० मिलिग्राम लागुऔषध फेला परेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१० का ५५ वर्षीय अजयकुमार जयशवालका साथबाट ३८९ ग्राम ४५ मिलिग्राम लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार उनीहरूका साथबाट भारतीय रुपैयाँ दुई लाख एक हजार ४०० रकम र रु एक लाख ८० हजारसहित रु. पाँच लाख दुई हजार २४० बरामद भएको छ । प्रहरीले उनीहरूबाट एक थान डिजिटल तराजु र दुई थान मोबाइलसमेत बरामद भएको जनाएको छ ।

उनीहरूमाथि लागुऔषध कारोबारमा मुद्दा चलाई मंगलबार जिल्ला अदालतबाट म्याद थप गरिने प्रहरी नायब उपरीक्षक राठौरको भनाइ छ । पछिल्लो समय दिनहुँ जसो नेपालगन्जमा लागुऔषध कारोबारी धमाधम पक्राउ परेका छन् ।


Published :साउन १९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media