
काठमाडौँ। विश्वभर बढ्दै गइरहेको युद्ध र हिंसाको विरुद्ध नागरिक आवाज बुलन्द गर्न आगामी २१ सेप्टेम्बरदेखि ४ अक्टोबर २०२६ सम्म आयोजना हुने ‘मेरो सहरमा शान्ति र अहिंसाका लागि चौथो विश्व मार्च’ (4th World March for Peace and Non-Violence In My City) को सन्दर्भमा काठमाडौँमा एक विशेष प्रारम्भिक बैठक सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय व्यक्तित्व डेक्लार (Declar) को प्रमुख उपस्थितिमा बसेको उक्त बैठकले नेपालमा मार्च आयोजनाको औपचारिक छलफल र तयारी प्रक्रिया अघि बढाएको हो।बैठकले विशेष गरी ‘शान्ति, शक्ति र आनन्द’ को मुख्य उद्देश्यलाई आत्मसात् गर्दै अहिंसा र शान्तिको विश्वव्यापी अभियानलाई काठमाडौँमा कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्नेबारे गम्भीर विमर्श गरेको छ।
बैठकमा सहभागी सरोकारवालाहरूले मानव कल्याणका लागि आन्तरिक र बाह्य शान्ति अपरिहार्य रहेको कुरामा जोड दिएका छन्। आगामी योजना र भावी बृहत कार्यदिशाको बारेमा थप छलफल पछि विस्तृत जानकारी प्रदान गर्ने आयोजकले जानकारी दिएको छ।
यस अभियानले मुख्य गरी निम्नलिखित मुद्दाहरूलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
शान्ति, शक्ति र आनन्दको प्रवर्द्धन: समाजमा सकारात्मक ऊर्जा, मानसिक शान्ति र आत्मिक शक्तिको सञ्चार गर्ने।
अहिंसाको संस्कृति: व्यक्तिगत र सामाजिक तहमा सक्रिय अहिंसालाई जीवन पद्धतिको रूपमा अपनाउन सचेतना फैलाउने।
परमाणु र सैन्य हतियार कटौती: विश्वभर आणविक हतियार निषेध र परम्परागत हतियारहरूमा कटौतीका लागि दबाब दिने।
युद्धको विकल्प वार्ता: अन्तर्राष्ट्रिय द्वन्द्व वा प्राकृतिक स्रोतको विवाद सुल्झाउन युद्धको बाटो पूर्ण रूपमा त्याग्ने।
यस विश्वव्यापी मार्चबारे थप विवरण आधिकारिक वेबसाइट www.parquepuntadevacas.net मा उपलब्ध छ।