
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले चुनावका बेला आफूहरूले दिएको ‘नो लाइन, वन्ली अनलाइन’ नाराको स्मरण गर्दै सरकारले नागरिकलाई परिवर्तनको अनुभूति गराउन नसकेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद प्रसाईंले रास्वपाको नेतृत्वमा दुई तिहाइ बहुमतको सरकार बने पनि नागरिकले अपेक्षित परिवर्तन महसुस गर्न नसकेको बताए ।
आफूले चुनावका बेला सरकारी कार्यालयमा लाइन हटाउने प्रतिबद्धतासहित भाषण गरेको स्मरण गर्दै उनले अहिले नागरिकहरू खाना पकाउने ग्यासका लागि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था आएकोप्रति असन्तुष्टि जनाए।
“कहिलेकाहीँ म कन्फ्युज हुन्छु– मेरै गालामा मेरै चड्कन। चुनावताका सरकारी कार्यालयमा नो लाइन, रास्वपाको पालामा वन्ली अनलाइन भनेर आफैँले गरेको भाषण सम्झिन्छु,” उनले भने।
ग्यासका लागि नागरिक दिनभर, रातभर र मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था आउनु सरकारका लागि लज्जाको विषय भएको उनले बताए।
सांसद प्रसाईंले ग्यास अभावबारे सरकारसमक्ष दुई प्रश्नसमेत राखे। देशभर ग्यासको अभाव भइरहेका बेला प्रधानमन्त्री र मन्त्री निवासमा समेत ग्यासको अभाव छ कि छैन भन्ने प्रश्न उनले गरे ।
त्यस्तै, सरकारले पर्याप्त ग्यास आयात भइरहेको दाबी गरिरहेको अवस्थामा बजारमा कृत्रिम अभाव र कालोबजारी भइरहेको हो भने त्यसमा संलग्नलाई कारबाही गर्न दुई तिहाइ बहुमतको सरकारलाई केले रोकेको हो भन्ने प्रश्न पनि उनले उठाए।
सरकारले नागरिकको अपेक्षाअनुसार राजनीतिक संस्कार र व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै प्रसाईंले जनताले केवल नयाँ अनुहार नभई नयाँ चरित्र र राजनीतिक संस्कार खोजेको बताए।