भदौदेखि शिक्षकहरुको देशव्यापी आन्दोलन

राष्ट्रपाटी न्युज

साउन २२, २०८३

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै भदौदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत तेस्रो राष्ट्रिय परिषद् बैठकका निर्णय सार्वजनिक गर्दै महासंघले आन्दोलनको मिति र कार्यक्रम विस्तारित कार्यदलले तय गर्ने जनाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी, शिक्षामा लगानी वृद्धि, विद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य, बाल कक्षा शिक्षक तथा विद्यालय कर्मचारीको तलब–भत्ता वृद्धि, अस्थायी शिक्षकको पेसागत सुरक्षा र स्थायित्व सुनिश्चित गर्नुपर्ने माग अघि सारे।

त्यस्तै, सरुवा सम्बन्धी शिक्षा नियमावलीको १०औँ संशोधन संशोधन गर्न, प्रधानाध्यापकको अधिकार सुदृढ बनाउन, निजी विद्यालयका शिक्षक–कर्मचारीको सेवा–सुविधा र ट्रेड युनियन अधिकार सुनिश्चित गर्नुपर्ने माग पनि महासंघले राखेको छ।

महासंघका अनुसार विगतका सहमति कार्यान्वयन नभएको र नयाँ शैक्षिक तथा पेसागत माग सम्बोधन नभएकाले भदौदेखि आन्दोलन सुरु गर्ने निर्णय गरिएको हो।


Published :साउन २२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media