
काठमाडौं । ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं प्रकाशक किशोर श्रेष्ठ पक्राउ परेपछि प्रहरीले उनको निवासमा मध्यरातमा छापा मारेको छ । ललितपुरको नख्खुस्थित निवासमा प्रहरीले छापा मारेर ल्यापटप, कम्प्युटर तथा मोबाइल फोन नियन्त्रणमा लिएको पारिवारिक स्रोतले जनाएको छ ।
बुधबार साँझ कुसुन्तीस्थित निवास नजिकबाट पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएलगत्तै प्रहरी टोली उनको निवासमा पुगेको थियो। त्यसक्रममा घरमा रहेका विद्युतीय उपकरण नियन्त्रणमा लिइएको बताइएको छ ।
निवासमा छापा मारेपछि प्रहरीले ललितपुरको ठाडोढुंगास्थित ‘जनआस्था’को कार्यालयमा समेत जाने तयारी गरेको बताइएको छ । मिडिया हाउसमा प्रहरी प्रवेश गरी छापा मार्ने तयारी भएपछि पत्रकारहरूले त्यसको विरोध गरेका छन् ।
‘मिडिया हाउसमा गैरकानुनी रूपमा छापा मार्न पाइँदैन’ भन्दै प्रेस स्वतन्त्रता र व्यावसायिक अधिकारको रक्षाका लागि विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू जनआस्थाको कार्यालयमा पुगेका छन् ।
प्रहरीले श्रेष्ठलाई व्यक्तिगत गोपनीयता उल्लङ्घनसम्बन्धी कसुरमा अदालतबाट अनुमति लिएर पक्राउ गरिएको जनाएको छ । श्रेष्ठविरुद्ध एक जना पीडितले दिएको उजुरीका आधारमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
तर, समाचार प्रकाशनसँग जोडिएको विषयमा सम्पादकलाई पक्राउ गर्ने तथा त्यसपछि निवास र मिडिया हाउसमा छापा मार्ने कदमले प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाएको पत्रकार सम्बद्ध संघ–संगठनहरूको भनाइ छ ।
कानुनी प्रक्रिया र प्रेससम्बन्धी स्थापित मान्यतालाई बेवास्ता गर्दै रातारात घर तथा मिडिया हाउसमा छापा मार्ने प्रहरी कदमको विभिन्न पत्रकार संघ–संगठनले विरोध गरेका छन् ।
श्रेष्ठ पक्राउ परेपछि पत्रकारिता क्षेत्रसमेत आन्दोलित बनेको छ । पक्राउको खबरलगत्तै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मी जिल्ला प्रहरी परिसर काठमाडौं, टेकु पुगेका थिए ।
पत्रकारहरूले समाचारप्रति असहमति वा चित्त नबुझेमा प्रेस काउन्सिल नेपाल वा प्रचलित कानुनी विधि र प्रक्रियाबाट समाधान खोज्नुपर्ने बताएका छन । समाचार प्रकाशनकै विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उनीहरूको तर्क छ।
यस्ता घटनाले सञ्चारमाध्यम र पत्रकारमाथि डर तथा दबाबको वातावरण सिर्जना गर्न सक्ने भन्दै नेपाल पत्रकार महासंघलगायतका संस्थाहरूले सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन् ।
प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । उनीविरुद्धको आरोप तथा पक्राउसँग सम्बन्धित विषयमा प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ।