मुलुक लफङ्गाहरूबाट शासित भएकाे प्रमाणित हुँदैछः घनश्याम भुसाल

राष्ट्रपाटी न्युज

साउन ३१, २०८३

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कम्युनिष्ट दलहरूले कसरी पराजय व्यहोरे भन्ने विषयको अहिलेसम्म गम्भीर समीक्षा हुन नसकेको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै भुसालले कम्युनिष्ट दलहरूले अनपेक्षित र व्याख्या गर्न कठिन पराजय व्यहोरेको बताए ।

उनले निर्वाचन परिणामबारे कम्युनिष्ट दलहरूले गम्भीर आत्मसमीक्षा गर्दै पराजयको कारण पहिल्याउनुपर्ने आवश्यकता औँल्याए ।

भुसालले प्रतिनिधिसभा निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था थप जटिल बन्दै गएको टिप्पणी गरे । निर्वाचन सम्पन्न भएलगत्तै आफूले मुलुक नालायकहरूबाट शासित हुँदै आएकोमा अब लफङ्गाहरूबाट शासित हुने टिप्पणी गरेको स्मरण गर्दै उनले त्यसबेला आफ्नो निष्कर्ष गलत साबित होस् भन्ने चाहेको बताए ।

तर पछिल्लो चार महिनाभन्दा बढी अवधिको राजनीतिक गतिविधिले आफ्नो त्यतिबेलाको चिन्ता थप गम्भीर बन्दै गएको देखाएको उनको दाबी थियो ।

उनले वर्तमान सरकार यही गतिमा थप दुई वर्ष अघि बढे मुलुकको अवस्था झन् कस्तो हुने हो भन्ने प्रश्नसमेत गरे ।

भुसालले पछिल्लो राजनीतिक परिस्थितिले समाजमा थप गम्भीर राजनीतिक दुर्घटना निम्त्याउने जोखिम बढाएको बताउँदै कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए ।

उनले विगतका कमजोरी पहिचान गरी कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउँदै नयाँ राजनीतिक दृष्टिकोणसहित जनतामाझ जानुपर्ने आवश्यकता औँल्याए ।


Published :साउन ३१, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media