
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सडक र सदनको फरक नछुट्ट्याउँदा र सस्तो लोकप्रियतावादी हर्कतले संसदीय मर्यादाकै उपहास गरिरहेको छ। हिजोसम्म सामाजिक सञ्जालमा ‘लाइक’ र ‘भ्यूज’ का लागि स्टन्ट गर्ने शैलीलाई नै संसद र राज्यका जिम्मेवार संयन्त्रमा समेत निरन्तरता दिनु उनको गम्भीर परिपक्वताको कमी हो ।
कानुन निर्माण गर्ने सर्वोच्च थलोमा पुगेर पनि सडककै ‘अराजकता’ र ‘लहड’ प्रदर्शन गर्नु उनलाई मत दिने मतदाताकै अपमान हो । केही दिनअघि मात्र प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री खनालको जवाफ चित्त नबुझेको भन्दै आफ्नै पार्टीका उपनेता एवं सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नोकझोक गरेर सदन बहिष्कार गर्नु अपरिपक्वताको ज्वलन्त उदाहरण हो।
बुधबार मात्र सामाजिक सञ्जालमा “अबदेखि भद्र, झट्ट नरिसाउने र मर्यादामा बस्ने” भन्दै आत्मालोचना गरेकी उनले २४ घण्टा नबित्दै पुनः उही उग्रता र आक्रोश सिंहदरबारको बैठकमै पोखिन् । प्रतिनिधिसभा बैठकमा उनी आफ्नो सिटबाट उठेर आक्रामक रूपमा अघिल्लो लहरतर्फ अघि बढेपछि रास्वपाकै अन्य सांसदहरूले उनलाई रोकेर बैठक कक्ष बाहिर लैजानु परेको थियो। यसले उनको व्यवहारबाट रास्वपा पार्टी पङ्क्ति समेत आजित भएको प्रष्ट पार्छ ।
संसद्मा नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्दिकीले रास्वपा सांसदहरूलाई “चिठ्ठा परेर आएका” भनी टिप्पणी गर्दा उनले नियमापत्ति जनाएकी थिइन । तर उनको दैनिक व्यवहारले अरूको त्यो आलोचनालाई बल पुर्याइरहेको छ र रास्वपा सिंगो पार्टीलाई नै ‘परिपक्व नभएकाहरूको झुण्ड’ सावित गर्न मद्दत गरिरहेको छ। नयाँ राजनीतिको नारा बोकेको रास्वपाभित्र संसदीय दलको मर्यादा र ह्विपको उपहास गर्दै आफैँ पार्टीभित्र गुट र आक्रोशको राजनीति जन्माउन उनको हर्कत जिम्मेवार देखिन्छ । सिंहदरबारमा भौतिक पूर्वाधार मन्त्री अस्वस्थ भएपछि सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन र बञ्चरेडाँडाका समस्या समाधानबारे स्थानीय तहका प्रमुखहरूसहितको महत्वपूर्ण छलफल डाकिएको थियो ।
बैठकमा विषयवस्तुको गम्भीरता बुझ्नुको साटो उनले स्थानीय तहका प्रतिनिधिहरूलाई “घर जान हतार भएको र जनप्रतिनिधि गैरजिम्मेवार भएको” भन्दै आक्रामक टिप्पणी गरिन् । टोखाका मेयर प्रकाश अधिकारी बैठकबाट बाहिरिन लाग्दा उनले अमर्यादित रूपमा रोक्न खोजेकी थिइन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उनको प्रस्तुतितर्फ लक्षित गर्दै भने— “हेर्नुस्, तपाईंको कुरा धेरै आक्रामक छ, यसरी कराउँदैमा हुँदैन । स्थानीय तहहरूमाथि खनिनु अघि फोहोरमैला व्यवस्थापनको इतिहास र कामको प्रकृति पनि स्टडी गर्नुहोस् ।” मेयर महर्जनको परिपक्व र कडा जवाफ सहन नसकेपछि आक्रोशित बनेकी उनी “छलफल यहाँ होइन, बञ्चरेडाँडाको फोहोरको थुप्रोमाथि हुन्छ, भोलिदेखि फोहोर लैजान दिन्नौं” भन्दै बैठकमै टेबल ठोकेर झोक्किँदै बाहिरिइन्। एकजना सार्वभौम संसदको सदस्य (सांसद) भनेको कानुन बनाउने, विधि स्थापित गर्ने र गम्भीर समस्याको निकास निकाल्ने नीति–निर्माता हो । तर उनकाे व्यवहारले अझै पनि टिकटक र फेसबुक लाइभको ‘भाइरल जोगी’ मानसिकता र झोला बोकेर हिँड्ने ‘बालहठ’ व्यवहारबाट मुक्त हुन नसकेको देखाउँछ ।
मर्यादित बैठकहरूमा टेबल ठोक्ने, कराउने र चित्त नबुझ्दा कुद्ने हर्कतले समस्या सुल्झाउँदैन, बरु सांसद तामाङकाे हैसियत नाङ्गो पार्छ। यदि जनताका समस्या समाधान गर्ने नै हो भने टेबल ठोकेर भाग्ने होइन, बैठकमै बसेर तर्क र तथ्यका साथ संवाद गर्ने धैर्यता सिक्न सांसद आशिका तामाङलाई यो घटना एक ‘दरिलो झापड’ र गतिलो पाठ हुनुपर्छ ।