देशभर मनसुनी वायुको प्रभावः चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एक / दुई स्थानमा हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागद्वारा मौसम बुलेटिनमा उल्लेख छ ।

मौसम बुलेटिनका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन /चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले महाशाखाका सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ ।


Published :भदौ ८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media