गण्डकी । न्याय, मुक्ति र समानताका लागि इतिहासका कालखण्डमा नेपाली महिलाले गरेका सङ्घर्ष र योगदानलाई झल्काउने गरी पोखरामा बुधबारदेखि ‘सार्वजनिक जीवनमा महिला ः महिलावादी स्मृतिको एक पहल’ तस्बिर प्रदर्शनी आयोजना गरिएको छ ।
फोटो सर्कलअन्तर्गत नेपाल पिक्चर लाइब्रेरीद्वारा लेकसाइडको बाराहीघाटमा आयोजित उक्त प्रदर्शनीमा राजनीति, शिक्षा, साहित्यलगायत क्षेत्रमा योगदान पुर्याएका नेपाली महिलाका कथा समेटिएका तस्बिरहरू राखिएका छन् ।
तस्बिर प्रदर्शनीको संयोजक सम्झना नेपालीका अनुसार चार सयभन्दा बढी तस्बिर प्रदर्शनीमा राखिएका छन् । महिलाको इतिहास, सङ्घर्ष र योगदानलाई सार्वजनिक स्मृतिमा स्थापित गर्ने उद्देश्यले तस्बिर प्रदर्शनीको आयोजना गरिएको उनको भनाइ छ ।
नेपाल पिक्चर लाइब्रेरीले अभिलेख गरेका तस्बिर मध्येबाट महिला आन्दोलन र सशक्तिकरणसँग सम्बन्धित तस्बिरलाई प्रदर्शनीमा राखिएको समन्वय संयोजक नेपालीले बताइन् ।
‘सार्वजनिक जीवनमा महिलाको भूमिका, योगदान र सङ्घर्षलाई तस्बिर–कथामार्फत देखाउन खोजिएको छ,’ उनले भनिन्, ‘यसले महिला इतिहासलाई संरक्षित गर्दै महिलावादी अठोटलाई कायम राख्न मद्दत पुर्याउने हाम्रो विश्वास छ ।’
तस्बिर प्रदर्शनीलाई जनतामाझ महिला, महिलाका रचना, टुकी मुनिको उज्यालोमा पढ्दै, महिलाका लागि महिला आदि गरी विभिन्न भागमा बाँडिएको छ । तस्बिरसँगै त्यसको एतिहासिक सन्दर्भ र पृष्ठभूमि उल्लेख गरिएको छ ।
राणा शासनकालमा महिलाले गरेका सङ्घर्षदेखि माओवादी जनयुद्धमा महिलाले गरेको बलिदानका गाथासम्मलाई तस्बिर–कथामा समेटिएको छ ।
तस्बिर प्रदर्शनी आगामी शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यसअघि वीरगन्ज, जनकपुर, नेपालगन्ज, सुर्खेतलगायत ठाउँमा तस्बिर प्रदर्शनीको आयोजना गरिएको थियो ।

