बैठक नै नबसी अन्त्य भयो लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन

राष्ट्रपाटी न्युज

१९ बैशाख २०७८

बुटवल — आइतबारदेखि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक नै नबसी अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनीहरुको आह्वानमा उक्त प्रस्ताव उपर छलफलका लागि विशेष अधिवेशन बोलाइएको थियो ।
अधिवेशन सुरु हुनुअघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि उक्त अधिवेशनको औचित्य नभएको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवले आजै बैठक अन्त्यको आह्वान गरेका हुन् ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय र मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा दिउँसो १२ बजे नै विशेष अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको पत्रमा उल्लेख छ । प्रदेश प्रमुखले बैठक अन्त्य भएको जानकारी गराएकाले सूचना टाँस गरेर अधिवेशन अन्त्य भएको जानकारी दिएको सभामुख पूर्णबहादुर घर्तीले बताए ।


प्रदेश प्रमुखको पत्र आएपछि प्रदेश सभा सदस्यहरुले बोलाएको विशेष अधिवेशन मुख्यमन्त्रीको सिफारिसमा अन्त्य गर्ने प्रक्रिया नमिलेको भन्दै सभामुख पूर्णबहादुर घर्ती प्रदेश प्रमुखसँग छलफलका लागि गएका थिए । यद्यपि प्रदेश प्रमुखले त्यसलाई विषय नबनाउन आग्रह गरेपछि अधिवेशन अन्त्यको सूचना मध्यान्ह साढे १२ मा मात्रै टाँसिएको हो ।
प्रदेश प्रमुखबाट मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै एमालेले लुम्बिनीमा पुनः पोखरेलकै नेतृत्वमा संविधानको धारा ६८ उपधारा १ बमोजिम बहुमतको सरकार बनाउन जुटेको छ ।

 


Published :१९ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media