आचारसंहिता उल्लघंन नगर्न आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको अचारसंहिता लागू भइसक्दा समेत पनि त्यसको उल्लंघन भइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ।
भोलि हुने राष्ट्रियसभा निर्वाचनको उपनिर्वाचनमा लागि ३ जेठको राति १२ बजेदेखि मौन अवधि शुरू भइसकेको छ। तर, यस अवधिमा पनि उम्मेदवारका पक्षममा मतमाग्ने काम भएको भन्दै आयोगले ध्यानाकर्षण भएको बताएको हो ।

मौन अवधि शुरू भएपछि राष्ट्रियसभाका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मंगलबार साँझ अबेर फेसबुकमार्फत मत मागेका थिए । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक अपील जारी गर्दै बादलका पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।
‘एकातर्फ आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आफैं आचारसंहिताविपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुँदैन,’ आयोगले विज्ञप्ति निकाल्दै भनेको छ, ‘अतः निर्वाचन आचारसंहिताविपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानूनबमोजिम कारवाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचार संहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरा समेत जानकारी गराइन्छ ।’

आयोगले मौन अवधिमा पनि आचारसंहिताविपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरूले उम्मेदवारको जीत-हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने काम समेत गरेको भन्दै त्यस्तो नगर्न समर्थन समेत चेतावनी दिएको छ ।


Published :५ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media