के पी वली मार्न नाथुराम गोड्से बन्छु भन्ने बैधेले मागे माफी

राष्ट्रपाटी न्युज

२९ जेष्ठ २०७८

काठमाडौं– प्रधानमन्त्रीविरुद्ध प्रदेश सभा बैठकमा नै आपत्तिजनक अभिव्यक्ति दिएका नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले आत्मालोचना गरेका छन् ।

प्रदेश सभाको शनिबारको बैठकमा विशेष समय लिएर वैद्यले आफ्नो अभिव्यक्तिको आत्मालोचना गर्दै माफी मागेका हुन् । उनले वाक स्वतन्त्रताको बढी नै उपभोग गरेको भन्दै आत्मालोचना गरेका हुन् । ‘म महात्मा गान्धी मान्ने मान्छे, वचनले पनि हिंसा हुनुहुँदैन भन्ने मान्छे, तर आवेसमा आएर यस्तो बोलेँ,’ उनले भने ।

वैद्यले आफ्नो भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका थिए । उनले माफी मागेपछि सभामुख सानुकुमार श्रेष्ठले उनको भनाइ संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।

शुक्रबारको बैठकमा उनले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यकता परे आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो भने उनकै पार्टी काँग्रेसले समेत अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो ।


Published :२९ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media