पूर्वअर्थमन्त्री पौडेल रिहा

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल २५ दिनको हिरासतपछि विशेष अदालतको आदेशसँगै रिहा भएका छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका पौडेललाई विशेष अदालतले शुक्रबार थुनछेक बहसपछि साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनको प्रत्यक्ष संलग्नता पुष्टि हुने पर्याप्त आधार नदेखिएको भन्दै उक्त आदेश दिएको हो।

पौडेललाई गत असार ८ गते पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत पुग्नुभएको बेला पक्राउ गरी काठमाडौं ल्याइएको थियो। उहाँको परिवारले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरे पनि त्यसबाट तत्काल राहत मिलेको थिएन।

महान्यायाधिवक्ताको कार्यालयले विशेष अदालतमा मुद्दा दायर गरेपछि भएको थुनछेक बहसमा न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो।

अदालतको आदेशपछि पौडेलले आगामी साउन २८ गतेका लागि तोकिएको तारेख बुझेर अदालतबाट बाहिरिनुभयो। उनलाई लिन परिवारका एक सदस्य तथा एमाले नेता विष्णु रिजाल अदालत पुगेका थिए । त्यसपछि उनी परिवारसँग घरतर्फ प्रस्थान गरेका छन् ।


Published :साउन १, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media