जनतालाई विश्वास दिन नसक्ने रास्वपा सरकार पाँच वर्ष टिक्दैनः कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका छन् । पार्टीको खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष घिसिङले आम नागरिक मात्रै नभइ उद्योग व्यवसायमा समेत सरकारले विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका हुन् ।

निराशाकै कारण व्यापारी र केही युवाहरूले आत्मदाह गर्नुपर्ने परिस्थिति बनेको भन्दै उनले पूर्ण रूपमा नभए पनि केहि हदसम्म सरकार जिम्मेवार रहेको टिप्पणी गरे । दुई तिहाइ नजिकको सरकारले जनताको आशा र भरोसालाई झन् निराशामा बदल्ने काम गरे नेपाल फेरि अर्को द्वन्द्वतिर जाने सम्भावना ठुलो रहने उनले बताए । उनले आफूहरुको चाहना सरकार पाँच वर्ष टिकोस् भन्ने रहे पनि अहिलेसम्मको काम हेर्दा पाँच वर्ष टिक्ने संकेत नदेखिएको तर्क गरे ।

अध्यक्ष घिसिङले आफ्नो पार्टी कुनै स्टन्ट गरेर वा एउटा क्षणिक सोचमा अगाडि बढ्ने पार्टी नभएको भन्दै देशमा उत्पन्न हुने जस्तोसुकै चूनौतिको सामना गर्न पनि तयार रहेको बताए । अध्यक्ष घिसिङले यसअघि कुनै पार्टीसँग चाहिँ एकीकरण गरेर ठुलो गल्ती भएकाले अब कुनै पार्टीमा गएर उज्यालो नेपालको अस्तित्वलाई मेटाउने काम कुनै पनि हालतमा नहुने स्पष्ट पारे ।

उनले बर्षाको मौसमपछि देशव्यापी रूपमा तीन महिनाको कार्यक्रम घोषणा गर्ने जानकारी दिए । हरेक गाउँपालिकामा पुगेर जनताको समस्या बुझ्ने काम आफूहरुले गर्ने उनको भनाइ छ । उनले अबको स्थानीय निकायको चुनाव र प्रदेशको चुनावमा उज्यालो नेपाल पार्टीले नै जित्ने र त्यसपछिको संघको चुनावमा उज्यालो नेपाल बाहेक जनताले अरु कुनै पार्टी नरोज्ने दावी गरे ।


Published :साउन २, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media