चर्चित अभिनेता मोहम्मद युसुफ खान अर्थात् दिलिप कुमारको निधन

बलिउडमा ‘ट्रेजेडी किङ’को उपनामले चिनिने दिलिपकुमारले मुम्बईको खार हिन्दुजा अस्पतालमा आज विहान साढे सात बजे अन्तिम स्वास लिएको भारतीय सन्चारमाध्यमले उल्लेख गरेका छन् ।

पछिल्लो समय उनी गम्भीर विरामी थिए । एक महिनाको बीचमा उनलाई दुईपल्ट अस्पताल भर्ना गर्नुपरेको थियो । दिलिप कुमारको निधनले हिन्दी सिनेमाका एउटा युगको अन्त्य भएको छ । उनको निधनको खवर उनकै ट्वीटर ह्याण्डिलबाट पुष्टि गरिएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी लगायतले उनको निधनमा शोक व्यक्त गरेका छन् ।

हाल पाकिस्तानमा पर्ने पेशावरमा सन् १९२२ डिसेम्बर ११ मा जन्मिएका दिलिप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो । उनले २२ वर्षको उमेरमा चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए । उनले सन् १९४४ मा रिलिज भएको ज्वारभाटा नामक चलचित्रमा उनले पहिलोपल्ट काम गरेका हुन् ।

पाँच दशकको चलिचित्र करिअरमा उनले झण्डै पाँच दर्जन चलचित्रमा अभिनय गरे । उनले अभिनय गरेका शहीद, मेला, बाबुल, फुटपाथ, देवदास, मुगल ए आजम, गंगा जमुना लगायतका चलचित्र हिट भएका थिए । उनले सन् १९९८ मा किला नामक चलचित्रमा अभिनय गरेका थिए । त्यो नै उनले अभिनय गरेको अन्तिम चलचित्र हो ।


Published :२४ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media