माधव नेपालको पार्टी सरकारमा सहभागी हुने

राष्ट्रपाटी न्युज

१० भाद्र २०७८

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने भएको छ । बिहीबार क्वालिटी बैकट बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनकाने सरकारमा छिट्टै सहभागी हुने घोषणा गरेका हुन् ।
‘हामी सरकारमा जान्छौं । पाँच दल भन्ने हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौं । कम्युनिष्ट पार्टी छोड्दैनौं,’ अध्यक्ष नेपालले भने । पत्रकार सम्मेलनमा आगामी दिनमा संस्कारयुक्त क्रान्तिकारी पार्टीको रुपमा अगाडि बढ्ने दाबी नेता नेपालले गरेका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा माक्सवाद र लेनिनवादको सिद्धान्तलाई छोड्दै गएको र व्यक्ति केन्द्रित पार्टीको रुपमा नेकपा एमालेलाई अघि बढाएको आराप लगाउदै नेता नेपालले विचार र सिद्धान्तलाई आत्मसात् गर्दै नेकपा (एकीकृत समाजवादी ) अगाडि बढ्ने बताए।

नेता नेपालले देशको कम्युनिस्ट आन्दोलनको स्थापनाकालदेखिको ऐतिहासिक पृष्ठभूमिबारे बोल्दै नेपाल कम्युनिस्ट पार्टीको संस्थापक पुष्पलालले मार्गनिर्देश गरेको सिद्धान्तलाई अगाडि बढाइने बताए। सिद्धान्तप्रति निष्ठावान हुँदै नेपाली समाजलाई आवश्यक मोडलको समाजवादको यात्रा आफूहरुको भएको जसमा व्यक्तिहरुमा रमाउने झुण्डहरु, कुसंस्कारीहरु र नेताहरुको भजन मण्डली र आरती उतार्ने झुण्डहरु पार्टीमा हुनेछैन, नेता नेपालले बताए।

देशको वर्तमान नयाँ परिस्थितिमा माक्सर्वाद लेनिनवादलाई सिर्जनात्मक प्रयोग गर्दै पुष्पलालको विरासतलाई ग्रहण गरेर पार्टी अगाडि बढ्ने नेता नेपालले बताए । पछिल्लो समय आफ्ना साथ छोडेका साथीहरुले पहिले पनि नयाँ पार्टी खाेलेकाे प्रमाण आज पनि निर्वाचन आयाेगमा रहेको खुलासा समेत नेपालले गरे ।

पार्टी एकता पक्षधरहरुप्रति लक्षित गर्दै उनले लामो यात्रामा केही साथीहरू थाकेको तर क्रान्तिकारी शक्तिहरु निरन्तर अगाडि बढ्ने बताउदै आगामी दिनमा जनताको समस्याहरुलाई ध्यानमा राखी नेकपा (एकीकृत समाजवादी ) अघि बढ्ने बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)ले छिट्टै नै राष्ट्रिय सम्मेलन गर्ने र उक्त सम्मेलनमा पार्टीको विचार एवम् सिद्धान्तबारे घनिभूत झलफल गरिने बताएको छ । यससँगै देशका सबै वामपन्थी शक्तिहरुसँग सहकार्य गर्ने बताउदै नेता नेपालले संसद विघटनविरुद्वको गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका शक्तिहरुसँग सहकार्य हुने नेता नेपालले बताए ।

यस लगायतका अन्य वामपन्थी शक्तिहरुसँग पनि सहकार्य हुने जनाइएको छ । नेकपा (एकीकृत समाजवादी ) ले निर्वाचन आयोगबाट कानुनी मान्यता प्राप्त गरेपछि नेता नेपालले आज औपचारिकरुपमा पत्रकार सम्मेलनमार्फत पहिलो पटक आफ्नो र नयाँ पार्टीको धारणा व्यक्त गरेका हुन् ।


Published :१० भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media