नेकपा (एस) को केन्द्रिय कमिटी विस्तार

राष्ट्रपाटी न्युज

७ आश्विन २०७८

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबारदेखि जारी केन्द्रिय कमिटी बैठक बिहीबार दिउँसो सम्पन्न भएको छ । बैठकले तीन सय एक सदस्यीय केन्द्रीय कमिटी, ७१ सदस्यीय पोलिट्ब्यूरो र ३५ सदस्यको स्थायी कमिटी गठन गरेको छ ।

सो दलको अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता मुकुन्द न्यौपाने, सात उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद शाह र जयन्ती राई चयन भएका छन् ।

महासचिवमा वेदुराम भुषाल, उपमहासचिवहरुमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल तथा सचिवहरुमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री चयन भएका छन् ।

नेकपा (एस) को केन्द्रीय कमिटीमा सात उपाध्यक्ष भएपनि वडा तहसम्मको स्थानीय तहको कमिटीमा दुई उपाध्यक्ष रहने व्यवस्था मिलाइएको छ । सो दलले केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरिएको र यसमा प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तिमा एक जना प्रतिनिधित्व हुनेगरी र केन्द्रीय आयोग विभाग र जनसंगठन विभागको आवश्यक प्रतिनिधित्व हुनेगरी सात सय एक सदस्य रहने निर्णय गरिएको छ ।

सो दलको तीनवटा आयोगमा अनुशासन आयोग, निर्वाचन आयोग र केन्द्रीय लेखा आयोग रहने निर्णय गरेको छ । आयोगमा ३५ सदस्य रहने निर्णय गरेको छ । विषयगत विभागमा २५ सदस्य र केन्द्रीय सल्लाहकार एक सय ५१ सदस्य रहने व्यवस्था सो दलको बैठकले निर्णय गरेको छ ।

 


Published :७ आश्विन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media