यो राणाशासन होइन, लोकतान्त्रिक युग होः एमाले उपाध्यक्ष पाण्डे

राष्ट्रपाटी न्युज

२५ बैशाख २०७९

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको प्रेम केही दिनमै टुट्ने बताएका छन् ।

चितवनको भरतपुरमा एमालेले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले उनीहरुको प्रेम नक्कली भएको दाबी गरे ।

‘शेरबहादुर देउवाजी यो प्रेम ज्यादै छोटो र कमजोर प्रेम छ भन्ने कुरा जान्न धेरै पर जानुपर्दैन,’ पाण्डेले भने, ‘यो नक्कली र चाउरे पिरती धेरै दिन चल्नेवाला छैन, केही दिनमै टुट्ने छ ।’

प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले केही दिनअघि कांग्रेसका उम्मेदवारले हारेको स्थानमा बजेट नदिने भनी दिएको अभिव्यक्तिप्रति उनले आपत्ति समेत जनाए ।

‘प्रधानमन्त्री पत्नीले हामीले हारेको ठाउँमा बजेट दिँदैनौं भन्नुभएछ । क्याबात् । आज पनि राणा शासन गएनछ भन्ने उहाँलाई लागेछ । यो राणाशासन होइन, लोकतान्त्रिक युग हो,’ एमाले नेता पाण्डेले भने ।


Published :२५ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media