गोरखा । गोरखाको आरुघाट गाउँपालिका १ मान्बुमा कांग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि सांघातिक आक्रमण गरेका छन् ।
सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा कांग्रेस टोलीले छेकेर आक्रमण गरेको दाबी गरिएको छ ।
आक्रमणबाट एमालेका गोपाल लामा, बिक्रम लामा, बिर्खे लामा र राजुबहादुर लामा गम्भीर घाइते भएका छन् ।
‘दिउँसो धोरतमा कार्यक्रम थियो । त्यहाँबाट फर्किँदा करिब पौने आठ बजे श्यामचेत आइपुग्दा त्यहाँ पसल थियो, खाजा खान लाग्दा काङ्ग्रेसका कार्यकर्ता आएर एक्कासी कुटपिट गरेछन्’, स्थानीय वीरबहादुर लामाले भने ।
कुटपिटबाट घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर छ । ‘विक्रम लामाको एउटा आँखा नै फुटेको छ । अरु साथीहरुका पनि टाउकोमा, शरीरमा घाउहरु धेरै नै छ’, विक्रम गुरुङले भने ।
आक्रमण गर्ने टोलीले सोमबार दिउँसो पनि कार्यक्रम स्थल जाँदै गर्दा एमालेका कार्यकर्तालाई रोकेर धम्काएको उनी बताउँछन् ।
काङ्ग्रेसबाट वडाध्यक्षको उम्मेदवार गजे घले (सूर्य) नेतृत्वको टोलीले आक्रमण गरेको दाबी गरिएको छ ।